साइपालखबर संवाददाता
काठमाडौं । पत्रकार वसन्तप्रताप सिंहद्धारा लिखित तथा संग्रहित फोटो पुस्तक ‘साइपाल हिमाल’ बिहिबार काठमाडौंमा बिमोचन भएको छ । नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभाको अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किरातीको बिशेष आतिथ्यमा बिमोचन गरिएको हो ।
फोटो पुस्तकमा साइपाल हिमाल, आसपासको जनजिवन, संस्कृति, चाडपर्व, रंगीचंगी जंगली फुलहरु, यार्सागुम्बाजस्ता बहुमुल्य जडिबुटीहरु, हिमताल, हिमनदि, भुदृश्य लगायत बिषयहरु तस्बिरमा उतारिएका छन् । उनले यो पुस्तक तयार गर्ने क्रममा पछिल्लो १५ बर्षमा साइपाललाई २२ पटक फन्को मारेको बताए । पुस्तक अंग्रेजी भाषामा प्रकाशित छ ।
तस्बिरसंगैका साइपाल बेसक्याम्प र उरै पास पुग्ने ‘म्याप’ र ‘आइटिनेरी’हरु समावेश छन् । बझाङ कार्यक्षेत्र बनाएर उनी डेढ दशकयता सक्रिय पत्रकारितामा छन् । हाल कान्तिपुर राष्ट्रिय दैनिकका लागि बझाङ संवाददाता छन् । ‘मैले साइपाल र समग्र सुदुरपश्चिमको पर्यटन सम्भावना, चुनौती र अवसरहरुका बारे थुप्रै समाचार र आलेखहरु लेखे, अरुलाई बुझाउन तस्बिरको माध्यम बलियो हुन्छ भन्ने लागेपछि यो फोटो पुस्तक तयार गरे,’ उनले भने, ‘सुदुरपश्चिमका हिमालको बारे सरकार र सरोकारवालालाई जानकारी दिएर यो क्षेत्र पनि पर्वतिय पर्यटनको ‘हब’ हुन सक्छ भन्ने उजागर प्रयास हो ।’
नेपाल पर्वतारोहण संघ र बझाङको साइपाल गाउँपालिकाको सहयोगमा ललितपुरको सानेपास्थित ‘म्याप हाउस’ले फोटो पुस्तकको प्रकाशन गरेको छ ।