रिदम सिंह, ३० साउन बझाङ ।
भौगोलिक रुपमा विकट रहेको बझाङमा अन्य समस्याहरु जस्तै गुणस्तरीय शिक्षा प्रदानमा पनि ठुलो समस्या रहेको छ । विशेसगरी बर्खाको समयमा बाटो अवरुद्ध हुने, विद्यालय क्षेत्र नै वाढीपहिरोबाट असुरक्षित हुने लगाएतका थुप्रै समस्याहरुका कारण विद्यार्थीहरुको पढाई समेत प्रभावित हुने अवस्था बझाङमा रहेको छ । अपर्याप्त भौतिक संरचना र भएका भौतिक संरचनाहरुले पनि सवै खालका क्षमता भएका विद्यार्थीहरुको पहुँचमा छैनन् । यसले गर्दा विद्यालयले दिने गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको सिकाईको स्तरको तालमेल मिल्न सकेको अवस्था छैन् ।
तर पछिल्लो समय केदारस्यूँ गाउँपालिकामा गुणस्तरीय तथा समावेशी शिक्षाका लागी आवश्यक पर्ने सवै प्रकारका मापदण्डहरुको स्पस्ट खाका देखिन थालेको छ । केदारस्यूँ गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनल नेपालले जिल्लामा रहेको गैरसरकारी संस्था प्रगतिशिल युवा समाजसँग सहकार्य गर्दै शिक्षाको क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेको छ । पछिल्लो समय केदारस्यूँ गाउँपालिका ८ मा रहेका मौभेरी आधारभुत विद्यालय बारकोट र कैलाश माध्यामिक विद्यालय टुस्कामा भौतिक संरचना निर्माण सम्पन्न गरेको छ । भुकम्प प्रतिरोधी र अपाङ्गमैत्री शौचालय र कैलाश माध्यामिक विद्यालयमा भुकम्प प्रतिरोधी र अपाङ्गमैत्री दुई कोठे विद्यालय भवन निर्माणगरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
अपर्याप्त मात्रामा भौतिक संरचना रहेको यी विद्यालयहरुमा पछिल्लो समय प्रगतिशिल युवा समाजले भौतिक संरचना निर्माणको क्षेत्रमा सहयोग गरेपछी विद्यालय संञ्चालनका लागी ठुलो सहयोग पुगेको विद्यालयले जनाएको छ । ‘विद्यालयमा हाल दुई सय ९३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएको र विगतका दिनहरुमा भौतिक संरचनाको अभावका कारण विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको भएपनि पछिल्लो समयभने पर्याप्त मात्रामा भौतिक संरचना भएपछि पठनपाठनमा सहजता भएको छ,’ विद्यालयका प्रधानाध्यापक प्रेमराज जोशीले भन्नुभयो ‘प्रगतिशिल युवा समाजको कार्यक्रा विद्यालयमा लागुभएपछि दुईकोठे प्रस्ट भवन, छात्रा मैत्री शौचालय र विद्यार्थीका लागी हात धुने बालमैत्री धाराको पनि स्थापना भएको छ । विद्यालय हातमा भएको वाल प्रिन्टीङका कारण विद्यार्थीहरुमा सिक्ने क्षमतामा पनि वृद्धीभएको छ ।’
केशी महिना अघीमात्रै कैलाश मावि टुस्कामा नै वल्र्डभिजन इन्टरनेशनल र प्रगतिशिल युवा समाजद्धारा दुइकोठे भवन निर्माण सम्पन्न भएपछि विद्यालय परिवार खुसी भएको छ । विद्यालयमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाद्धारा उक्त भवन निर्माण निर्माण सम्पन्नभएपछि साना कक्षा विद्यार्थीहरुको पढाई र बसाइमा ठुलो सघाउ पुगेको विद्यालयका प्रधानाध्यापक नवराज थापाले बताउनुभयो । भुकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री विद्यालयभवन निर्माणले बालबालिकाको पढाइका लागि सघाउ पुग्नुका साथै सिकाई समेत प्रभावकारी बन्दै गएको प्रधानाध्यापक थापाले बताउनुभयो ।
‘विद्यालयमा माध्यामिक तहको कक्षा ११ र १२ को समेत पढाई हुने भएका कारण विद्यालयमा केही रुपमा भौतिक संरचनाको अभाव भएको र विशेषगरी तीन कक्षासम्म अध्ययन गर्ने बालबालिकाहरुको हकका व्यवस्थित कक्षाकोठा अभाव रहेकोमा अहिले त्यो समस्या समाधान भएको छ,’ कैलाश माविका प्रधानाध्यापक नवराज थापाले भन्नुभयो ‘भौतिक संरचना निर्माण मात्र नभई बालबालिकाहरु बसाइका लागि फम, कार्पेट र उमेर अनुसारको फर्निचरको व्यवस्था पनि संस्थाले गरिदिएको छ । यसले गर्दा बालबालिकालाई पठनपाठनमा समेत सहजता ल्याईदिएको छ । विद्यालयका विद्यालय भवनका साथै शौचालय, हेन्डवासिङ कर्नर लगाएतका क्षेत्रमा पनि सहयोग गर्दा त्यसले विद्यालयलाई ठुलो सघाउ पुगेको छ ।’
यता केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले गाउँपालिकाले शिक्षाको क्षेत्रमा लिएका लक्ष्यहरु पुरा गर्नका लागि प्रगतिशिल युवा समाज सहयोगी हातको रुपमा आएको बताउनुभयो । गाउँपालिकाको विकट भेगमा रहेका विद्यालयहरुको शैक्षिक स्तर उकास्नका लागि गरेको कामले यस भेगका विद्यालयमा ठुलो सहयोग पुगेको बताउनुभयो । निर्माण भएका भौतिक संरचनालाई हस्तान्तरण पश्चात् विद्यालयले ती संरचनाको संरक्षण गर्ने र प्रयोग गर्ने जिम्मा रहेका कारण विद्यालयले भवनको दुरुपयोग नगरी विद्यालयले गुणस्तरीय शिक्षा प्राप्तीका लागी प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । निर्माण भएका भौतिक संरचनाको सही प्रयोग गर्न सकेको खण्डमा यो सहयोग शैक्षिक क्षेत्र सुधारका लागि कोसेढुङ्गा नै सावित हुने उहाँले बताउनुभयो ।
प्रगतिशिल युवा समाज, दलित सहयोग समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा केदारस्यूँ गाउँपालिकाका विभिन्न वडाहरुमा विभिन्न परियोजनाहरु संचालनमा रहेका छन् । संञ्चालित योजनाहरुको अनुगमन तथा भौतिक संरचना हस्तान्तरण कार्यक्रम अन्र्तगत मौभेरी आधारभुत विद्यालय बारकोटमा यही साउन २८ गते र कैलाश माविमा २९ गते भौतिक संरचना हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताउनुभयो ।