कर्मचारीहरुको पारिश्रमिक तुरुन्तै भुक्तानी गर्न दबाव

जनक कुमार खड्का- बझाङ । कर्मचारीहरुको तलव भत्ता तुरुन्तै उपलब्ध गराउनु पर्नेभन्दै जयपृथ्वी नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । आज नेपाल राष्ट्रिय स्वास्थ्कर्मी महासंग बझाङ, नेपाल स्वास्थ्यकर्मी संघ बझाङ र एकीकृत स्वास्थ्य संगठन बझाङले संयुक्त रुपमा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाललाई ज्ञापन पत्र बुझाएका हुन् । राज्यले लिएको उदेश्य परिपुर्ति गर्नका लागी अहम् भुमिका रहदैँ आएको भएपनि जयपृथ्वी नगरपालिकाले विगत ४ महिनादेखी स्वास्थ्य क्षेत्रका कर्मचारी र अन्य निजामति लगायत सवै क्षेत्रका कर्मचारीहरुलाई तलव खुवाउन नसकेको भन्दै ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा तलवभत्ता खुवाउन नसकिएका कर्मचारीहरुलाई तत्कालै सेवा सुविधा उपलब्ध गराउनु गर्ने, जयपृथ्वी नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुमा प्रशासनिक खर्चको व्यवस्थापन गर्नु पर्ने, विविध खर्च स्वास्थ्य संस्थामा नै उपलब्ध गराउनु पर्ने माग राखिएको छ । यसैवीच जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले कर्मचारीलाई लामो समयसम्म तलव खुवाउन नसक्दा आफुलाई पनि अप्ठ्यारो लागेकाले तत्काल यो समस्या समाधान गरी कर्मचारीहरुलाई तलव भत्ता उपलब्ध गरिने बताउनुभयो ।

नेपाल राष्ट्रिय स्वास्थ्कर्मी महासंघ केन्द्रीय सदस्य जनक बहादुर सिंह, नेपाल निजामति कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश धामी, नेपाल राष्ट्रिय स्वास्थ्कर्मी महासंग बझाङका अध्यक्ष नरजित खड्का, नेपाल निजामति कर्मचारी संघ बझाङका अध्यक्ष मेनका सिंह लगाएतका कर्मचारीहरुले ज्ञापनपत्र नगरप्रमुख बजाललाई बुझाएका हुन् ।