बझाङमा चिसो बढे संगै जाडो छल्न बेशी झर्दै भेडीगोठ

मकरराज धामी 

बझाङ ।चिसो बढे संगै बझाङका भेडापालक जाडो छल्न बेशीँ झर्न थालेका छन । उच्च हिमाली क्षेत्रमा चिसो अत्याधिक बढन थाले पछि भेडीगोठहरु वेशीतर्फ झार्न थालिएको हो । बझाङको साईपाल, सुर्मा, छविसपाथीभेरा, तल्कोट गाँउपालिका र बुङगल नगरपालिकाका भेडापालकहरु चरनका लागी बर्षायाममा लेक तिर जाने र हिँउदमा बेशीँ झर्ने गर्दछन । चार हजार मिटर भन्दा अग्ला पाटनहरुमा भेडा चराउनु यस क्षेत्रका भेडापालकहरुको दैनिकि भएपनि चिसो बढेसंगै मंसीरमै वेशीतिर झर्न थालेका हुन । बुङगल नगरपालिका २ लौनेका किशोर धामीले आफ्ना डेढ सय भेडा ल्याएर चिसो अत्याधिक बढेकाले जाडो छल्न बेशी झरेको बताए । भेडा चराउने हिमाली पाटनहरुमा चिसो बढन थाले पछि उनी संगै गएका अन्य भेडापालकहरु वेशी झरेको उनको भनाई छ । उनी संगै सोहि गाँउका नर बहादुर धामी, जय धामी, हर्कृ धामी लगायतका भेडापालकहरुले ६ महिना धौलाढुङगा, चुफी, जलजला र रेलागाडका पाटनहरुमा विताए । उनीहरु ८ सय बढी भेडाबाख्रा लगेर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए ।
वर्षौ देखि ती पाटनहरुमा भेडा चराउने गरेका उनीहरु यसबर्ष चिसो निक्कै बढेको बताउछन । चिसो बढेसंगै भेडा मर्नथाले पछि यसपाली छिट्टै भेडालाई वेशी झारिएको हो । चिसो बढेसँगै भेडाले वेशीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक जय धामीको भनाई छ । गर्मी बढेपछि वेशीबाट लेकतिर जान खोज्छन भने लेकमा जाडो बढेपछि वेशी तर्फ झर्छन । उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । सोही अनुसार हामीहरुले पनि गोठ सार्ने गर्नु पर्छ । कात्र्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको उनको भनाई छ ।
यता छविसपाथीभेरा गाँउपालिकाका शुक्र बोहरा पनि ३ सय भेडाको बथानसहित आफ्नै गाँउ बुडखोरी झरेका छन् । टकरमाली, रिखैन, मटामेला, खार, जामनाडाडां लगायतका क्षेत्रमा महिनौँ दिन बिताएका बोहरा जाडो बढेसँगै भेडी गोठ लिएर औल झरेका हुन् । जाडोयामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ । भेडापालकहरु घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउ पर्न थालेसगै वेशी झर्ने र गर्मी बढेसंगै हिमाली भेग तिर जाने गर्दछन । फागुन अन्तिमसम्म वेशीमै रहने र गर्मी बढे संगै चैत महिनामा लेकतिर जाने बोहराको भनाई छ् । चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडो बाट बचाउनकै लागि बेशी झार्न थालिएको उनको भनाई छ ।
वर्षभरि लेकवेंसी गरेर भेडापालन व्यवसायमा लागीरहेकाहरूलाई हिँउदको समयमा भने सास्ती हुने गरेको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि वेशी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकहरूको गुनासो छ । सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय संकटमा पर्न थालेको हो । पहिले देखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि वेशी झर्दा भेडा चराउन समस्या हुने गरेको छविसपाथीभेराका मिने धामीको भनाई छ । उनले भने ‘सामुदायिक वनमा भेडा चराएवापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ । विरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुंगा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गर्छन ।’
केही वर्ष अघिसम्म यहाँका अधिकांस मानिसको मुख्य पेसा नै भेडापालन थियो । अहिले यो पेशाप्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेसा संकटमा परेको उनको भनाई छ । सामुदायिक वन उपभोक्ता समितिहरूले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउँदा विनास गर्न थालेपछि अधिकांस ठाँउका सामुदायिक वनमा चरिचरनमा रोक लगाउनु परेको बताउँछन् ।