दार्चुलाका मतगणना स्थलमा सीसी क्यामरा जडान

दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ ।

१ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कर्मचारी आवास गृहका दुई कोठामा गरिने मतगणना कार्यलाई व्यवस्थित, पारदर्शिता र धाधलीरहित बनाउन मतगणना स्थलमा सीसी क्यामरा र तारजाली समेत राखिएको मुख्य निर्वाचन अधिकृत नेपालले बताए ।

सीसी क्यामराबाट मतगणना कार्यको मूख्य निर्वाचन अधिकृतले निरन्तर निगरानी राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी मतगणना स्थलमा निरन्तर विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर दुईवटा फरकफरक विद्युत् लाइन जडान गरिएको छ ।

मूख्य निर्वाचन अधिकृतको नेतृत्वमा २ जना मतगणना अधिकृतहरुले मतगणना गर्नेछन् । दुई कोठामा १ जना मतगणना अधिकृत, १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटरसहित अन्य ३ जना कर्मचारी र एक जना कार्यालय सहयोगी मतगणना स्थलमा रहनेछन् ।

राजनीतिक दलहरुका तर्फबाट प्रत्येक उम्मेदवारको एक/एक जना प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गराइनेछ ।

मतगणना गर्ने कर्मचारीले आलोपालो गरी मतगणनालाई रात दिन जारी राख्नेछन् भने राजनीतिक दलका प्रतिनिधिहरुलाई सिप्ट परिवर्तन छुट दिइनेछ ।

हाल मतपेटिका राखिएको कोठाको ढोकामा राजनीतिक दल तथा निर्वाचन कार्यालयको छुट्टाछुट्टै ताला लगाएका छन् ।