खडेरीले उत्पादन शून्य

बझाङ — ‘धर्तीमा आग पड्यो (जमिनमा आगो लागेजस्तो भयो), लालाबाला काँ लगेर पाल्ने ?’ थलारा गाउँपालिका–२ का किसान शेरबहादुर खाती बाटो हिँड्नेहरूसँग विरह पोख्छन् । बेलाबेला खेततिर हेर्छन्, खुइय्य सुस्केरा हाल्छन् र टाउकामा हात राखेर टोलाउँछन् ।

उनको खेत आगोले डढाएजस्तै सुक्खा छ । छरेको बीउ नउम्रेर धेरैजसो ठाउँ बाँझै छन् । केही ओसिलो भागमा परेको बीउ उम्रे पनि फल नलागी सुकेको छ । ‘खत्तमै भयो भनेको साल पनि ३०/४० बोरी जेठाँसी तुल (हिउँदे बाली) हुन्थ्यो । यो साल त फल छाडी नल पन नहुन्याँ भयो,’ उनले भने, ‘यो पालाजस्तो अनिकाल त कहिले भएन । के खाएर बाँच्ने हो ?’

पोहोर–परार यो समयमा खाती परिवारलाई हिउँदे बाली भित्र्याउन चटारो हुन्थ्यो । चैत अन्तिम साताबाटै उनीहरू गहुँ, जौ, मसुरोलगायत हिउँदे बाली काट्ने, चुट्ने, छ्वाली र भुस्सा थन्काउने काममा व्यस्त रहन्थ्यो । परिवारले वर्षभरि खाएर बचेको अन्न बेच्ने गरेका उनीहरूले यसपालि एक गेडो अन्न भित्र्याउन पाएका छैनन् । खडेरीका कारण करिब २५ रोपनीमा लगाएको हिउँदे बाली फल लाग्नै नपाई खेतमै सुकेको खातीले बताए ।

लामो समयसम्म परेको खडेरीका कारण खातीमात्रै हैन, बगाडा, कफलकाडा, धनाडा, कात्रा, बेराडी, एनबाडा र तोतिबाडाका चार सयभन्दा बढी किसान परिवारको हालत यस्तै छ । ‘भदौदेखि राम्रोसँग पानी परेको थिएन, पुस–माघतिर वर्षा भइहाल्ला भनेर दुःख गरेर खेती लगायौं । छरेकै बीउ पनि उब्जनी भएन,’ दंगाजीका गणेश सायरले भने, ‘खडेरीले पूरै जमिन डढेको छ । उम्रेको बीउ पनि फल्न पाएन । खेतबारी सबै बाँझो भयो ।’

उनले हिउँदे बाली खडेरीले सखाप पारेकाले सयौं परिवार भोकमरीको चपेटामा पर्ने निश्चित भएको बताए । यस्तो समस्या जिल्लाभरि छ । खडेरीका कारण जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, वित्थडचिर, केदारस्युँ, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्ना गाउँपालिकाका अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएको छ । सुर्मा, मस्टा, तल्कोट र साइपाल गाउँपालिकामा पनि लगाइएको हिउँदे बाली खडेरीको चपेटामा परेको छ । ‘पहिला मानो छरे मुरी फल्ने ठाउँमा यो पाला पाथी बीउले मानो पनि उब्जिएन,’ जयपृथ्वी नगरपालिका कैलाशका भरत कामीले भने, ‘रुडा (खडेरी) ले गर्दा माटो खरानी जस्तै भएको छ । आदै (आर्द्रता) नभएपछि उम्रेको बीउ पनि सुक्यो । हामी त भोकै मर्ने भयौं,’ उनले सामान्य अवस्थामा वार्षिक १०/१५ क्विन्टल हिउँदे बाली फलाउने किसानको खेतमा यो वर्ष एक क्विन्टल पनि उब्जनी नभएको बताए । ‘सिमार (छिपछिपे पानी भइरहने खेत) तिर खेत हुने कसैकसैले एक दुई कट्टा (५० किलोको बोरा) भित्र्याए होलान् । धेरैजसोले त अन्नको गेडोसम्म देख्न पाएनन्,’ उनले भने ।

कतिपय गाउँका किसानले उम्रिएको बाली खेतमा सुक्न थालेपछि फल नलाग्दै घाँसको रूपमा बस्तुभाउलाई खुवाएको र कतिपयले खेतमा आगोसमेत लगाएको बताए । ‘धेरैजसोले फल्ने होइन, सुकेर यत्तिकै खेर जानुभन्दा घाँस त हुन्छ भनेर बस्तुभाउलाई खुवाए,’ छबिस पाथीभेरा गाउँपालिका– ६ लेकगाउँकी इन्द्रा बुढाले भनिन्, ‘कतिले त घाँसका लागि पनि काम नलाग्ने गरी सुकेकाले खेतमै आगो लगाइदिए ।’ उनले करिब ३ सय ५० परिवारको बसोबास रहेको आफ्नो गाउँका धेरैजसो परिवारले यो वर्ष अन्नको गेडो पनि देख्न नपाएको बताइन् ।

खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको एक टोलीले सिँचाइ सुविधा नभएका ठाउँहरू खडेरीबाट नराम्ररी प्रभावित भएको बताएको छ । ‘९० प्रतिशतभन्दा बढी किसानले यो वर्ष हिउँदेबाली देख्नसमेत पाएका छैनन्,’ सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजकसमेत रहेका अध्ययन टोलीका एक सदस्य बलबहादुर रोकायाले भने, ‘कृषिकै भरमा जीवन चलाइरहेका सयौं परिवार यो वर्ष भोकमरीको चपेटामा पर्ने देखिएको छ ।’ उनले खडेरीपीडित किसानलाई तत्काल राहत र रोजगारीका अवसर उपलब्ध गराउन सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।

१४ हजार परिवारलाई चरम खाद्य संकट सेती, कालंगा, सुनिगाडलगायत नदी र खोलाको तटमा रहेका तथा बाह्रैमास सिँचाइ सुविधा भएका सीमित क्षेत्रबाहेक आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादन ९० प्रतिशतदेखि शतप्रतिशतसम्म घटेको जिल्ला कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लाभरि १५ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा गहुँ, जौ, केराउ, मसुरो, तोरीलगायत बाली खेती गरिएकामा ६ हजार २ सय २४ हेक्टर क्षेत्रफलको उत्पादन शून्य रहेको ज्ञान केन्द्रको तथ्यांक छ । खडेरीका कारणले ३२ करोड ६७ लाख ६० हजार बराबरको ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदे बाली नष्ट भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये सिँचाइ सुविधा भएको ३५ प्रतिशत क्षेत्रफलमा लगाइएको बालीमा खडेरीको कुनै असर नदेखिएको भए पनि असिञ्चित जमिनमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए । ‘सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ,’ उनले भने, ‘पहाडी र उच्च पहाडी भेगका १४ हजारजति घरधुरीलाई चरम खाद्य संकट हुने भएको छ,’ उनले जिल्लाको ४५ प्रतिशत जनसंख्या खडेरीका कारण भोकमरीको चपेटामा पर्ने निश्चितजस्तै भएको बताए । उनले सामान्य अवस्थामा वार्षिक उत्पादन ३२ हजार मेट्रिक टन हुने गरेको र जिल्लामा उत्पादित खाद्यान्नले नपुगेर ७ हजार मेट्रिक टन अपुग हुने गरेको उनले जानकारी दिए । ‘यो वर्ष घटेको परिणाम जोड्ने हो भने करिब १३ हजार ५ सय मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ ।’ यसरी उत्पादन घट्दा कृषिमै पूर्ण रूपमा निर्भर रहेका, रोजगारी नभएका, न्यून आयस्रोत भएका परिवारले चरम खाद्य संकटको सामना गर्नुपर्ने हुन्छ,’ उनले भने ।

खडेरीको मारमा परेको क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा गरेर कुनै न कुनै रूपमा यहाँको समस्या तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । ‘राहत प्याकेज उपलब्ध गराउने, कामका लागि खाद्यान्न कार्यक्रम लागू गर्ने वा अरू केही न केही गर्नैपर्ने अवस्था छ, त्यसो भएन भने स्थिति भयावह हुन सक्छ,’ उनले भने, ‘हामीले पनि स्थानीय तह, प्रदेश र संघीय सरकारमा यहाँको भोकमरीको समस्यालाई नीति कार्यक्रममै समेट्नका लागि सुझावसहित प्रतिवेदन पेस गर्ने तयारी गर्दै छौं ।’

असिनापानीले थप क्षति

लामो खडेरीको चपेटामा परेका बझाङवासीलाई बुधबार परेको असिनापानीले थप पीडा दिएको छ । सिँचाइ भएका ठाउँमा फलेका गहुँ, जौ, मुसुरोलगायत बालीमा असिनाले ठूलो क्षति गरेको छ । भर्खरै फुलेका स्याउ, नास्पाती, आँप, आरुकुलमलगायतका फलफूल र तरकारी बाली पनि नष्ट भएको छ । छबिस पाथीभेरा, दुर्गाथली, थलारा, बिथ्थड चिर, खप्तड छान्ना, मस्टा, तलकोट गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकामा असिनाले बढी क्षति गरेको किसानले बताएका छन् ।

‘खडेरीले उसै पनि हिउँदे बाली सखाप पारिसकेको थियो, बचेको गहुँ र जौ पनि चुटेर ध्वस्त बनाएको छ, एक्कासि परेको असिना पानीले गर्दा दाना सबै झरेर माटोमा मिसिएका छन्,’ कैलाशका किसान लालबन्दी विष्टले भने, ‘फुल्न लागेका र भर्खर फल लाग्न थालेका फलफूल र तरकारी केही पनि बाँकी रहेनन् । असिनाले बर्बादै पार्‍यो ।’ खडेरीका कारण सिँचाइ सुविधा नभएको क्षेत्रको बालीनाली सुके पनि सिञ्चित क्षेत्रमा भने ठूलो क्षति भएको थिएन । असिनाले कुलो लाग्ने बेसी क्षेत्रको बालीमा पनि ठूलो क्षति पुर्‍याएको छ । ‘खेतान गहुँका गेडा बिस्कुनजस्तै भएका छन्, पहाडी भेगको बाली खडेरीले खायो, बेसीतिर असिनाले झार्‍यो,’ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले भने, ‘यो वर्ष जिल्लामा ठूलो भोकमरी हुने भयो ।’

यता कृषि ज्ञान केन्द्रले असिनाले कुन ठाउँमा कस्तो क्षति भएको छ भन्ने विवरण नआइसकेको जानकारी दिएको छ । ‘छोटो अवधिमा असिना परेकाले धेरै क्षति भएन होला भन्ने हाम्रो अनुमान छ,’ केन्द्रका प्रमुख विष्टले भने ।