साइपालमा ४० परिवारले चामल पाएनन्

बझाङ — ठेकेदारले चामल वितरणमा मनपरी गरेपछि साइपाल गाउँपालिकाका ४० परिवारलाई खाद्यान्न अभाव भएको छ । ठेकेदारले चैत्र दोस्रो साता ढुवानी गरी गाउँ पुर्‍याएको चामल महंगो मूल्य तिर्ने र आफ्ना मान्छेलाई मात्रै वितरण गरेपछि पालिकाका गरीब, विपन्न तथा असहाय परिवार खाद्यान्न अभावमा परेका छन् ।

यसअघि लगातारको हिमपात र ठेक्का स्विकृति ढिला भएकाले चामल ढुवानी ढिलाइ भएको थियो । नेपाल खाद्य संस्थानले गत वर्ष देखि खाद्यान्न नपठाएको र घरमा संचित खाद्यान्न पनि सकिएपछि यो पटक चामल पाउन नसकेका परिवारमा भोकमरी सुरु भएको पीडितहरुले गुनासो गरेका छन् ।

साइपालका स्थानीयले बन्दोबस्ती र दैनिक उपभोग्य सामग्रीका लागि दुई दिन पैदल हिडेर सदरमुकाम चैनपुर आउनुपर्ने हुन्छ । लकडाउनले हिडडुल गर्न नदिइएको र सदरमुकामका पसल समेत बन्द भएपछि खाद्यान्नको समस्या थपिएको साइपाल –४, धुलीका सांगे लामाले बताए । ‘कसैले एकघरमा ८/१० कट्टा लगेको छ, हामीले एक कट्टा पनि पाएनौं, चैनपुर जाउ भने लकडाउनले गर्दा पसल बन्द भएका छन्,’ उनले भने ।

घरमा खाद्य सकिएकाले एैचोपैचो गरेर छाँक टारिरहेका छन् । लामाको ८ जनाको परिवार छ । ६ केटाकेटी छन् । ‘हामी त छाँक काटेर भए नि सास अल्झाउथ्यौ होला, केटाकेटीले बा भात दे भन्छन्, चामल पाइएको छैन, के दिने ?’ उनले दुखेसे पोखे, ‘दैनिक ज्यालादारी गरेर खाने मान्छे हौ, महंगो दाम पनि हाल्न सक्दैनौ, लकडाउनले गर्दा काम पनि पाइएको छैन, विपन्न परिवारका हामी खान नपाएर भोकमरीको चपेटामा पर्ने स्थिति भयो ।’

वडाध्यक्ष जयसिंह रोकायाका अनुसार चैत्र दोस्रो साता वडा ४ का १३० परिवारका लागि ४०० कट्टा चामल ढुवानी भएको थियो । ठेकेदारले ढुवानी गरेको चामल घरघरै थन्क्याएका स्थानीयले गुनासो गरेका छन् । वडाध्यक्ष रोकायाले ६८ कट्टा चामल ढुवानी गरेका भेडावालले दिन नमानिरहेको बताए । ‘पैसा तिरेर ल्याएका छौ भनेका छन्, के गर्ने कसो गर्ने छलफल भैरहेको छ,’ उनले भने ।

वडा ४ मा चैत्र २८ गते बाँडने निर्णय भएको थियो । वडाबासी वडा कार्यालयमा भेला भएका थिए । तर लकडाउनको बेला ठेकेदारले नदिने भनेपछि स्थानीय झनै आत्तिएका छन् । ‘चामल बाढ्ने दिन ठेकेदारले भन्यो कि मैले दिन्न, लकडाउनको बेला कसरी दिउ भन्यो, धम्क्यायो, सुरक्षाकर्मी र वडाध्यक्ष पनि आएका थिए, उनीहरु पनि डराएर भागे,’ एक स्थानीयले बताए । ठेकेदारको मनपरी र जनप्रतिनिधिको निरिहताले गर्दा धुलीमा दैनिक ज्यालादारी गर्ने र विपन्न परिवारका ४० घरले एक कट्टा पनि चामल नपाएको गुनासो गरेका छन् ।

वडाध्यक्षले भने परिवारको आकार हेरेर चामल वितरण गरिरहेको बताएका छन् । ‘ चैत २८ गते वितरण गर्ने भन्ने बिषयमा दुई/तीन टोलका मानिस भेला नभएकोले नगरेका हौ, अब भोलीपर्सी गर्छौ, वितरण नगरेको भन्ने सबै झुटा हो,’ उनले भने, ‘सानो परिवारलाई एक कट्टा, ठूलो परिवारलाई चार कट्टासम्म वितरण गरिरहेका छौ ।’ धुलीमा ३० किलोको एक कट्टा सोना मन्सुली चामलको १६ सय तिर्नुपर्छ । मोटा चामलको १० सय ८० रुपैया पर्छ ।

साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले चामल वितरण नगरिएको भन्दा पनि मौज्दात राख्नेलाई पर्याप्त नभएको हुनसक्ने बताए । ‘साइपालमा अहिले खानको समस्या कसैलाई छैन, कसैले कम र बढी पाए होलान, हिउँदमा हिउँ, बर्खामा पानी पर्ने भएकाले ५/६ महिनाको लागि स्टक राख्नेलाई पर्याप्त नभएको हुन सक्छ ’ उनले भने । ल्याइएका वा ढुवानी गरिएका जति खाद्यान्न बाँडिसकेको उनले बताए । बाँकी लकडाउनले गर्दा खच्चड र भेडा घर पठाइएकाले वितरणका लागि तत्कालै ढुवानी गर्ने सम्भावना छैन । यद्यपी गाउँपालिका आफैले ढुवानीको व्यवस्था गरेर चाडै वितरण गर्ने तयारी भैरहेको छ । स्याडाँदेखि साइपालका गाउँमा पुर्‍याउन कम्तीमा १० देखि १५ दिन लाग्छ ।

खाद्य संस्थानले साइपाल गाउँपालिकामा अस्थायी विक्री केन्द्र खोलेर यसअघि खाद्यान्न वितरण गर्ने गरेको भए पनि यो वर्ष समय मै ढुवानी नभएकाले पनि वितरणमा समस्या भएको अध्यक्ष धामीले बताए । ‘अस्थायी बिक्री केन्द्र हुँदा ठेकेदार मार्फत ल्याउनुपर्ने, उनीहरुले कहिले छिटो पुर्‍याएर चाँडै सक्काइदिने, कहिले ढिलो पुर्‍याइदिने समस्या भैहाल्दो रहेछ,’ उनले भने ।

उच्च हिमालमा पर्ने भएकोले अन्न उत्पादन न्यून हुने यस गाउँपालिकामा नेपाल खाद्य संस्थानको स्थायी डिपो संचालन गरिदिनका लागि यहाँका बासिन्दाले प्रदेश सरकारका मुख्य मन्त्री र संघीय सरकारका वाणिज्य तथा आपूर्ती मन्त्रालय सम्म पनि पटक पटक डेलिगेसन गैसकेका छन । पटक–पटक धाउँदा पनि आश्वासन मात्र पाएको तर डिपो स्थापना नभएका कारण बेला–बेलामा खाद्यायन्न अभाव र भोकमरीको समस्या हुने गरेको स्थानीय अगुवा मानबहादुर बोहराले बताए ।