बझाङ – जिल्लामा भारतबाट फर्केका र उनीहरुको सम्पर्कमा आएका मानिसहरुको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु भएको छ । शनिबार ४ सय २६ जनामा गरिएको टेस्ट सबैको नेगेटिभ आएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताएका छन् ।
बित्थडचिर गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, केदारस्यु गाउँपालिका, बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा पुगेर उनीहरुको टेस्ट गरिएको थियो । ‘आरडीटी किट हामीकहाँ शुक्रबार राती आइपुग्यो, हामीले शनिबार विहानै क्वारेन्टाइनहरुमा पुगेर टेष्ट ग¥यौं, अहिलेसम्मको टेस्ट सबैको नेगेटिभ छ,’ प्रमुख ओखेडाले बताए । टेस्ट गरिएका सबैजसोको क्वारेन्टाइन बसाई १४ दिन पुरा भैसकेकाले एकहप्ते होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता गराएर घर पठाइसकेको पनि उनले बताए ।
आरडीटी किट उपलब्ध नभएको अवस्थामा यसअघि १८ जनाको स्वाब परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको छ । २७ गते पठाइएको स्वाबको रिपोर्ट भने आइसकेको छैन । उनीहरुलाई क्वारेन्टाइमै राखिएको छ ।
यसैगरी कोरोना संक्रमणको एकजना शंकास्पद विरामी अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई आइसोलेसनमा राखेर कोरोना परिक्षणका लागि काठमाडौंको टेकुमा पठाइएको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसंगै उनलाई होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको छ । उनी भारतको बेङग्लोरबाट फर्किएका थिए ।
बझाङ जिल्लाभरी ३२ वटा क्वारेन्टाइन छन् । दुर्गाथली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३२ जनाको सोमबार टेस्ट गर्ने भएको छ । उत्तरी साइपाल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जनाको टेष्ट गर्न सोमबार स्वास्थ्यकर्मीको टोली उता जाने तयारीमा छ । साइपाल पुग्न दुई दिन लाग्ने भएकाले त्यहाँको परिक्षण बुधबार हुनेछ ।
जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बझाङका स्वास्थ्यकर्मीहरुको रोहवरमा एक मिटरको सामाजिक दुरी कायम गरेर ¥यापिड टेस्ट भैरहेको छ । फिल्डमा खटिने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को बिशेष सुरक्षा व्यवस्था गरिएको छ । सुदुरपश्चिम प्रदेशबाट बझाङका स्वास्थ्यकर्मीलाई ३५ वटा स्टाण्डर्ड पिपिइ उपलब्ध गराइएको छ । भने प्लाष्टिकबाट निर्मित ३० वटा पिपिइको व्यवस्था गरिएको छ ।
कोभिडलाई लक्षित गरी जिल्ला अस्पतालका दुईवटा एम्बुलेन्सलाई पार्टेसन गरेर तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्स चालकलाई पनि पिपिइको व्यवस्था गरिएको छ । कोरोना संक्रमित विरामी ओसारपसार गर्नुपर्ने स्थिती आएको खण्डमा चालकको स्वास्थ्यमा आइपर्ने जोखिमलाई मध्यनजर गर्दै एम्बुलेन्स पार्टेसन गरिएको हो ।
जिल्ला प्रशासनका प्रमुख उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट र शनिबार बसेको सर्वदलिय बैठकले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर छाउनी काठमाडौंको चैत्र २३ को पत्रबाट लेखी पठाएबमोजिम जिल्लाका अन्य छ एम्बुलेन्सलाई पनि पार्टेसन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।